चर्चित नेपालभाषा चलचित्र सिलु शीर्षक गीतको कभर भिडियो सार्वजनिक

नेपालभाषाको सर्वाधिक लोकप्रिय चलचित्र सिलुको शीर्षक गीतको कभर भिडियो सार्वजनिक भएको छ । नेवाः कला, संस्कृति, भाषा, सम्पदाको संरक्षण र प्रबर्द्धनार्थ सामाजिक सञ्जालबाट काम गर्दै आएको ‘वी नेवार्स’ समूहद्वारा निर्मित कभर भिडियो मंगलबार सार्वजनिक गरिएको हो । सिलु कभर भिडियोको निर्देशन रीतु दर्शनले गरेका छन् । भिडियोमा स्वयंम् रीतु दर्शन सहित आशिष महर्जन, विवेश महर्जन, दिप बन्धन महर्जन, योन्सन महर्जन, निर्जला महर्जन, रश्मि श्रेष्ठ, जेनि श्रेष्ठ, विकल महर्जनको अभिनय रहेको भिडियोको छायांङ्कन र सम्पादन डेसुम महर्जन र बिक्सन महर्जनले गरेका हुन् । १९८७ नोवेम्बरमा रिलिज भएको नेपालभाषाको पहिलो चलचित्र सिलुको निर्देशन प्रदिप रिमालले गरेका हुन् । नेपालमा अन्य भाषामा बनेको यो पहिलो चलचित्र समेत हो । प्रेम बाँनिया र दान बहादुर महर्जन निर्माता रहेको यस चलचित्रको लेखन देव बहादुर रञ्जित ‘मोति’ र प्रेम बाँनियाको रहेको छ । मूख्य भूमिकामा जय श्रेष्ठ र नविना श्रेष्ठ रहेको यस चलचित्रमा वरिष्ठ हाँस्यव्यंग्य ‘मह’ जोडी कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पनि भूमिका रहेको छ । चलचित्रको शीर्षक गीतमा जुजुकाजी रञ्जित र रचना जी।सीको स्वर रहेको छ । नेपालभाषामा ‘सिलु’को अर्थ गोसाँईकुण्ड तीर्थ हो । किम्बदंती अनुसार नेवाः परम्परामा श्रीमान श्रीमति सँगै गोसाँईकुण्ड जानु हुँदैन, यदि श्रीमान श्रीमतीसँगै गयो भन्ने उनीहरूको सम्बन्ध टुट्छ भन्ने मान्यता छ । सिलु तीर्थ जाने क्रममा हुने विभिन्न आरोह अबरोहका क्रममा घटेका घटनाको सरोफेरोमा यो चलचित्र निर्माण भएको हो । सो समयदेखि हालसम्म पनि चलचित्रलाई निकै मन पराइएको छ । प्रत्येक वर्षको जनै पुर्णिमाको दिन गोसाईकुण्डमा मेला लाग्ने गर्दछ । सो मेलामा काठमाडौंबाट पनि धेरै शद्धालुहरु पुग्ने गरेका छन् ।