साउथ अभिनेत्री नयनतारासँग रोमान्स गर्दै शाहरुख

सन् २०१८ मा प्रदर्शन भएको फिल्म ‘जिरो’ पछि अभिनेता शाहरुख खान फिल्म ‘पठान’ बाट कमब्याक गर्ने तयारीमा छन् । यसका अलावा उनी सलमान खानको अभिनय रहने फिल्म ‘टाइगर ३’ मा पनि केमियो भूमिका निर्वाह गर्दैछन् । योसँगै उनको हातमा साउथ निर्देशक एटलीको फिल्म परेको छ । उनले फिल्ममा काम गर्ने पक्का भइसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो पेन इन्डिया फिल्मका लागि शाहरुखको अपोजिटमा साउथकी चर्चित अभिनेत्री नयनतारालाई साइन गरिएको छ । पिंकविलाको रिपोर्ट अनुसार, निर्देशक एटली र शाहरुख खानले लगातार नयनतारासँग कुराकानी गरिरहेका थिए । हालै उनीसँग निर्माण टिमले कागजी सम्झौता पूरा गरेको छ । फिल्ममा अरु पनि बलिउड र साउथका ठूला कलाकारलाई साइन गराउने तयारीमा निर्माण छ । फिल्ममा शाहरुखको दोहोरो भूमिका हुनेछ । नयनताराको भूमिकाको बारेमा भने निर्माण टिमले कुनै जानकारी दिएको छैन । फिल्मलाई शाहरुख खानको प्रोडक्सन हाउस रेड चिल्लीले निर्मााण गर्नेछ । फिल्मको लोकेशन, लुक टेस्ट, कास्टिङ जस्ता बाँकी चिजको तयारी सुरु भइसकेको छ । एटलीले यसअघि ‘मेर्सल, थलपथि ६३, थेरी’ जस्ता सफल फिल्मको निर्देशन गरिसकेका छन् ।