जेन्टलमेनपछि गीत गाउँदै पल, निर्मात्री बनिन् अभिनेत्री पूजा

सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘म यस्तो गीत गाउँछु’ फागुनबाट फ्लोरमा जाने भएको छ । अभिनेता पल शाहको व्यस्तता अनि सांगितिक पक्षलाइ अब्बल बनाउन निर्माण टिमको लबिङले फिल्म फ्लोरमा जान केहि ढिलाइ भएको हो ।
बिहिबार मात्र ‘जोनी जेन्टलमेन’ फिल्मको इण्ड क्ल्यापमा भेटिएका अभिनेता पलले अबको प्रोजेक्ट ‘म यस्तो गीत गाउँछु’ रहेको बताए । उता निर्देशक सुदर्शन थापा भने यतिबेला फिल्ममा समावेश हुने गीत संगीतलाइ छनोट गर्ने क्रममा व्यस्त छन् ।
‘फिल्ममा तीन गीत मात्र समावेश हुने हो रेकर्ड हुँदै जाँदा सात वटा गीत पुग्यो’, सुदर्शनले भने, ‘सबै गीत उत्कृष्ट छन्, उत्कृष्ट मध्येबाट पनि उत्कृष्टता खोज्दा केहि दिन समय गयो ।’ फिल्ममा समावेश हुने सबै गीतमा संगीत अर्जुन पोखरेलको रहनेछ ।
‘काम सुरु गर्न ढिलाइ भएकोमा केहि पछुतो त छ, थापाले फिल्मीखबरसँग थपे, ‘हतारमा भन्दा धैर्यताका साथ सुरु हुने कामले नै अन्त्यमा सफलता पाउँछ, यो कुरामा विस्वस्त छु, फ्लोरमा जान ढिलाइ देखिनुको पछिको राज पनि यहि हो ।’ त्यसो त लभ स्टोरी फिल्ममा अब्बल ठहरिइसकेका निर्देशक थापा जहिले पनि आफ्ना फिल्ममा समावेश हुने गीत संगीतलाइ उत्कृष्ट बनाउन माहिर छन् ।
यसैबीच ‘म यस्तो गीत गाउँछु’ मा पल शाहसँग जोडी बाँध्दै गरेकी अभिनेत्री पूजा शर्माले यो फिल्मबाट निर्मात्रीको ट्याग समेत पाउने भएकी छिन् । फिल्मको बजेट ‘हाइ’ हुँदै गर्दा त्यसको एक हिस्सा पूजा बन्दै गरेको भन्दै निर्देशक थापाले पूजालाइ यो प्रोजेक्टको ‘वन अफ दि प्रोड्यूसर’ बोले ।