लालबन्दीको बीणा हल–‘छक्का पन्जा धेरै कमाउने फिल्म, तर कमजोर पर्दा’
सर्लाहीको बिणा चलचित्र मन्दिरमा चलचित्र ‘कप्स’ प्रदर्शन भइरहेको थियो । मोफसलको यही हलबाट चलचित्र विकास बोर्डले बक्स अफिसको सुरुवात गर्दै थियो । यो हलमा दर्शकको उपस्थिती निकै नै कम थियो ।स्पेशल सिटमा ४५ जना र बाल्कोनीमा ३० जना बसेर चलचित्र हेरिरहेका थिए ।
स्पेशलमा ४ सय सिट छन् । बाल्कोनीमा १ सय ५ । जम्मा ५ सय ५ वटा सिट । स्पेशलको टिकट दर ६० रुपैयाँ छ । बाल्कोनीमा बस्नेहरुले ८० रुपैयाँ तिर्नुपर्छ । अझ, विद्यार्थीलाई त छुट समेत छ । विद्यार्थी परिचयपत्र सहित हलमा कोही दर्शक आए भने उनीहरुलाई छुट छ । स्पेशल सिटमा बसेर चलचित्र हेर्दा उनीहरुले २९ रुपैयाँ मात्र तिरे पुग्छ ।
यस्तो अवस्थामा शनिबारको पहिलो शोबाट ‘कप्स’को कमाई कती त ? विद्यार्थी आएका थिएनन् भने चलचित्रको कमाई ५ हजार १ सय हुन्छ । यदि विद्यार्थी आएका भए त अझै कम । हलका व्यवस्थापक सुशिल दाहाल यो किसिमको दर्शकको उपस्थिती एकदमै झुर भएको बताउँछन् । उनले भने–‘शनिबारको दिन पनि यो किसिमको दर्शकको उपस्थिती त दुखलाग्दो कुरा नै हो ।’ चलचित्र राम्रो र चिनिएका कलाकार नभएका कारण हलमा दर्शक नआएको दाहालले बताए ।